पोखरा
गण्डकी प्रदेशमा दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सोमबार विश्वासको मत दिन फ्लोर क्रस गर्ने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ खुवाएका छन् । मनाङेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाउँदा देवकोटालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय दिइएको हो ।
मनाङेले गण्डकीमा छैटौं पटक मन्त्री बनेर रेकर्ड बनाएका छन् । मनाङे यसअघि तीन पटक खेलकुद मन्त्री र दुई पटक भौतिक पूर्वाधार मन्त्री भएका थिए ।
सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिएपछि आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नेपाली कांग्रेसका विन्दुकुमार थापा र डा.टकराज गुरुङलाई मन्त्री बनाएका थिए ।
बिन्दुले ऊर्जा, जलस्रोत, सिँचाइ तथा सामाजिक विकास मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका थिए । विन्दुले पाएको जिम्मेवारीबाट देवकोटालाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय दिइएको हो ।
पाण्डेलाई विश्वासको मत दिएको राप्रपाले भने तत्काल सरकारमा जाने नजाने निर्णय गर्न बाँकी छ । गण्डकीमा सात मन्त्रालय छन् ।
प्रकाशित मिति २०८१ जेठ २९ गते मंगलबार १२:१०




