२०८३ साउन २१ गते बिहीबार

खाइरहेको पद छोड्नुपर्ने सकसमा गण्डकी प्रदेशका यी दुई मन्त्री

खाइरहेको पद छोड्नुपर्ने सकसमा गण्डकी प्रदेशका यी दुई मन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २१ गते मंगलबार ०२:३०

पोखरा । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहमा रहेका गण्डकी प्रदेशका २ जना मन्त्रीलाई खाइरहेको मन्त्री पद नखाउँ भने दिनभरकाे शिकार खाउँ भने आफ्नै बाबुको अनुहार भनेझै भएको छ । पार्टी व्यवहारिक रुपमा अलग भइसकेको र गण्डकी...

प्रचण्ड–माधव समूहलाई सरकार छाड्‍न दबाव

पोखरा । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहमा रहेका गण्डकी प्रदेशका २ जना मन्त्रीलाई खाइरहेको मन्त्री पद नखाउँ भने दिनभरकाे शिकार खाउँ भने आफ्नै बाबुको अनुहार भनेझै भएको छ ।

पार्टी व्यवहारिक रुपमा अलग भइसकेको र गण्डकी प्रदेश सरकारमा ओली समूहको नेतृत्व रहेको हुँदा उनीहरुलाई राजीनामा दिन दबाब परेको छ ।

गण्डकी प्रदेशमा ओली समूहका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् र यो मन्त्रिपरिषदमा प्रचण्ड–माधव समूहका नेताहरु हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री छन् । चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री र थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् ।

सोमबार प्रचण्ड–माधव समूहको गण्डकी प्रदेश संसदीय दलको बैठकमा पनि मन्त्रीहरुको राजीनामाबारे छलफल भएको थियो । छलफलमा नेताहरुले सरकारमा बसिरहनु उचित नहुने बताएका थिए ।

मन्त्रीहरुले भने पार्टीको निर्देशन नआएको र मुख्यमन्त्रीले पनि माग नगरेकाले राजीनामा नदिएको बताएका छन् । उनीहरुले पार्टीको निर्देशन आउनेबित्तिकै राजीनामा दिने बताए । ‘पार्टीबाट सांसद भएका हौं, पार्टीबाटै मन्त्री भइयो,’ कृषिमन्त्री थापाले भने, ‘पार्टीबाट निर्देशन आउनेबित्तिकै राजीनामा दिन्छौं ।’

१३ पुसमा प्रचण्ड– माधव समूहले नयाँ सरकारको समीकरणका लागि अरु दलसँग छलफल गर्ने निर्णय गरेको थियो । तर प्रचण्ड–माधव समूहकै २ मन्त्री सरकारमा रहेकाले नेपाली कांग्रेससहित प्रदेशसभाका अरु दलले यस विषयमा छलफल गर्न मानेको छैन ।

सोमबारमात्र प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश ईन्चार्जबाट मुख्यमन्त्री गुरुङलाई हटाएर देवेन्द्र पौडेललाई जिम्मेवारी दिएको छ । उनले सरकारबाट राजीनामा दिने विषयमा छिट्टै निर्णय हुने बताए ।

प्रचण्ड– माधव समूहको राजीनामाले मुख्यमन्त्री गुरुङलाई भने ठूलो संकट पर्ने छैन । ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले समर्थन गरेकाले सरकार जोगाउन आवश्यक बहुमत मुख्यमन्त्री गुरुङलाई पुग्नेछ ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको समर्थनमा ३० जना सांसद पुग्नेछन् । प्रचण्ड– माधव समूहसँग प्रदेश सभामुखसहित १३, नेपाली कांग्रेससँग १५ र जनता समाजवादी पार्टीसँग २ सांसद छन् ।

प्रकाशित मिति २०७७ पुस २१ गते मंगलबार ०२:३०
हजुरको प्रतिक्रिया