पोखरा
नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले सर्वोेच्चमा रिट दायर गरेका छन् ।
बिहिबार देवकोटाले कारबाही असंवैधानिक भएकाले खारेजीको मागसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटको पेशी आइतबारका लागि तोकिएको छ । पुर्नवहालीको माग गर्दै रिट दायर गरेको उनले बताए ।
‘मुख्यत नेकपा माओवादीले मलाई स्ष्पटीकरण सोध्ने कुरा नै कानुनसंवत छैन । अर्को कुरा माओवादीको निर्देशनमा प्रदेश सभाबाट कारबाही गरियो । त्यो असंवैधानिक, गैरकानुनी छ । त्यो खारेज गरेर प्रदेश सभाको हैसियतमा कामकाज गर्न दिनु भन्ने आदेश माग गरेको छु’, फणिन्द्रले भने ।
माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क)बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले आफुलाई माओवादीले कारबाही गर्न नमिल्ने बताइरहेका छन् । जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।
माओवादी केन्द्रले आफ्ना सांसदलाई ह्विप नै लगाएको थियो । ह्विप विपरीत देवकोटाले फ्mलोर क्रस गरेर मुख्यमन्त्री पाण्डेको पक्षमा मत दिएपछि माओवादीले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि माओवादीले दल त्याग गरेको सूचनासहित कारबाहीको पत्र जेठ ३२ मा संसद सचिवालयमा पठाएको थियो ।
प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त भएको जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन् ।
प्रकाशित मिति २०८१ असार ६ गते बिहीबार ०५:४१




