पोखरा
सर्वोच्च अदालतले माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि संसदमा थमौती भएका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा आज मन्त्री बन्दैछन् । साढे १० बजे पोखरास्थित पर्यटन बोर्डको कार्यालयमा सपथ ग्रहण गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको हो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटालाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछन् । अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटाले पूरानै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बागडोर सम्हाल्नेछन् ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले देवकोटालाई जेठ ३२ गते कारबाही ग¥योे । सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए ।
नेकपा माओवादी केन्द्रले गरेको कारबाही विरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरे । माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क)बाट निर्वाचित देवकोटालाई माओवादीले कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्चले गत सोमबार अन्तरिम आदेश दिएको हो ।
उनी बिहीबार संसद फर्र्किएपनि सभामुख कृष्णप्रसाद धितालको अनमुति नपाएपछि मर्यादापालकले उनलाई प्रवेशमा रोक लगाए । त्यही दिन उनलाई मन्त्रीको सपथ खुवाउने मुख्यमन्त्री पाण्डेकोे योजना हो । तर, सभामुखको कदमले रोकियो । शुक्रबारदेखि संसदीय गतिविधिमा फर्किएका देवकोटा तेस्रो हप्तामा दोस्रो पटक मन्त्री बन्दैछन् ।
प्रकाशित मिति २०८१ असार १६ गते आइतबार ०८:११




