पोखरा ।
देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।
गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् ।
शनिबार पहिरोले पुरिएर स्याङ्जामा ३ जना, पर्वतमा २ जना, तनहुँमा २ जना, काठमाडौँमा १ जना काभ्रेमा २ जना र दाङमा १ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।
अविरल वर्षासँगै खसेको पहिरोले गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतमा शनिबार मात्रै ८ जनाको निधन भएको छ ।
घाइते हुनेमा स्याङजामा पाँच, तनहुँमा चार, ओखलढुङ्गामा दुई र गुल्मीमा एक जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शनिबार स्याङजामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । विरुवा गाउँपालिका–६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ७१ वर्षीय माधव शर्मा, ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीय हरिमाया शर्माको मृत्यु भएको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।
यता पहिरोसँगै आएको ढुंगा लागेर तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङ मार्गमा काम गरिरहेका ५० वर्षीय कृष्णबहादुर पुलामी र लमजुङ सुन्दरबजारका ५१ वर्षीय समलाल श्रेष्ठको निधन भएको छ ।
काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ ।
वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ ।
त्यस्तै आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा सो क्षेत्रका वासिन्दालाई सतर्क रहन भनिएको छ ।
प्रकाशित मिति २०८१ असार २३ गते आइतबार ०८:४४




