दुवै बसमा चलान गरिएभन्दा १५ यात्रु बढी
चितवन ।
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । आज भेटिएका मध्ये दुई शवकाे शनाखत हुन बाँकी छ ।
आइतबार चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरार्सी पूर्व गैँडाकोटमा शव भेटिएको हो । गोलाघाट स्थित नारायणी नदी किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरी गण नम्बर–१७ बाट खटिएको इन्स्पेक्टर मनोज गुरुङ नेतृत्वको टिमले शव निकालेर स्थानीय प्रहरीलाई बुझाएको छ ।
पूर्वी नवलपरासीका गैँडाकोट गरपालिका–७ स्थित गैरीमा पनि एकजना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
दुवै बसमा चलान गरिएभन्दा १५ यात्रु बढी रहेकाे हुनसक्ने आशंका
नारायणगढ मुग्लिन सडकखण्डका सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार बसका यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् । काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् ।
बसको चलानीमा २७ जना उल्लेख भए पनि बीचमा विभिन्न ठाउँबाट यात्रुहरु चढेको भनेर विवरण टिपाएका हुन् । आफन्तहरुले टिपाएको विवरण समेतलाई जोड्दा बसमा ३८ जना यात्रु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको नोटमा उल्लेख गरिएको छ ।
यस्तै, वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुवै बसमा गरेर थप १५ यात्रु यात्रारत रहेको देखिएको हो ।
प्रकाशित मिति २०८१ असार ३० गते आइतबार १२:००




