हालसम्म ६८ प्रतिशत भौतिक र ५०.२७ प्रतिशत वित्तीय प्रगती सम्पन्न
पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा सम्पन्न नहुने भएको छ । कोभिडका कारण निर्माण सामाग्रीको आपूर्ती तथा पूर्ण क्षमतामा निरन्तर काम गर्ने अवस्था नबन्नुले निर्धारित समयमा विमानस्थल सम्पन्न नहुने भएको हो । २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेको थियो ।

विमानस्थल आयोजना उपप्रबन्धक कृष्णप्रसाद पौडेलले निर्धारित समयमै विमानस्थल सम्पन्न नहुने बताए । उनले भने- ‘थप केही समय लाग्ने अवस्था देखिएको छ । जुलाई सम्म निर्माण गर्न सम्भव देखिदैन् ।’ उनका अनुसार सन् २०२१ को अन्तिम सम्म निर्माण पनि निर्माण सम्पन्न गर्न कठिन देखिएको छ । समय थपका लागि प्रस्ताव पेश गर्ने योजनामा निर्माण कम्पनी रहेको उनले बताए । कम्पनी ६ महिना देखि एक वर्षसम्मको समयावधी थपका लागि प्रस्ताव पेश गर्ने सोचमा छ ।’ यसअघि तोकिएको मितिभन्दा छ महिनाअघि आयोजना सम्पन्न गरी परीक्षण उडान शुरु गर्ने लक्ष्य राखिएको थियो । तर विश्वब्यापी कोरोना भाइरसका कारण निर्माण सामग्री र जनशक्ति अभाव हुँदा काम प्रभावित भएकाले निर्धारित समयमै काम सम्पन्न नहने अवस्थामा पुगेको हो ।
विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्ण पौडेलका अनुसार गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन सकेन् । जसका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न कठिन भएको हो । हाल नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ । पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिएकाे भने छैन । अहिले विमानस्थलमा १६० जना चिनियाँ र ६२ नेपाली कामदारले विमानस्थलमा काम गरिरहेका छन् ।

विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम लगभग सकिएको छ । अहिले फिनिसिङको काम भैरहेको छ । हालसम्म आयोजनाको ६८ प्रतिशत काम सकिएको छ । उनका अनुसार ५०.२७ प्रतिशत वित्तिय प्रगती भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म १२ अर्ब रुपियाँ खर्च भैसकेको छ । हालसम्म धावनमार्ग (रनवे), आइसोलेसन पार्किङ, पहुच मार्ग, ह्याङगर, कार्गो भवन, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनल टर्मिनल भवन, फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, नाला, भवन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन् ।
विमानस्थलका लागि सरकारले ०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । त्यतिले नपुगेपछि बेलाबेलामा थप जग्गा अधिग्रहण गरिँदै आएको छ । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ । इपीसी (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आईकाओ)को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो । पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान मात्र अवतरण गर्न मिल्ने छ ।
१०४ रोपनी जग्गाको मुआब्जा वितरण सुरु
विमानस्थलका लागि हालसम्म चार पटक जग्गा अधिग्रहण गरिएको छ । पछिल्लो समय १०४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप गरिएको जग्गाको मुआब्जा वितरण प्रक्रिया अहिले सुरु भएको आयोजना उपप्रबन्धक पौडेलले जानकारी दिए । ३१ सय रोपनीबाट थप जग्गा अधिग्रहण गरेर ३९ सय रोपनी पुगेको छ । आयोजनाका लागि ६२०, ६० र अहिले १०४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । विमानस्थलको दक्षिणपुर्वको २१२ जनाको जग्गा अधिग्रहण गरिएको हाल मुआब्जा वितरण कार्य सुरुभएको उनले बताए । विमानस्थलले कूल ३९ सय रोपनी क्षेत्रफल ओगट्को छ ।
प्रकाशित मिति २०७७ पुस २६ गते आइतबार ११:४६




