२०८३ कात्तिक ११ गते मंगलबार

गोठाला र पशुचौपायाको उपचार गर्न बुकीमै ‘क्याम्प’

गोठाला र पशुचौपायाको उपचार गर्न बुकीमै ‘क्याम्प’

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ साउन १४ गते सोमबार ०२:२९

स्वास्थ्यकर्मी र पशु प्राबिधिकको टोलीलेले गुर्जाघाट क्षेत्रमा ‘क्याम्प’ संचालन गरेर उपचार गरेको छ ।

बागलुङ

बर्खामा बुकी र हिउँदमा गाउँ झर्ने तमानखोलावासीको परम्परा नै हो । एकै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने हुँदा घाँस तथा दानाका लागि बुकी र बेसी गर्नुपर्ने बाध्यता छ ।

बर्खाको करिब चार महिना गाउँ छाडेर उक्लने उनीहरु बुकीमै बस्छन् । चिसो लागेपछि ओराली लाग्छन् ।

पशुपालनबाटै जीविका चलाउँदै आएका गोठालाले अहिले पनि परम्परागत रुपमा पशुपालन गर्दै आएका छन् । यति बेला बुकी क्षेत्र गाई, भैँसी, भेडाबाख्राले भरिएका छन् । खर्कहरुमा गोठालाले गोठ बनाएका बसेका छन् ।

महिनौँ लेकमा बिताउने गोठाला समय–समयमा बिरामी पर्ने गर्छन् । उनीहरु बुकीमा बिरामी पर्दा अस्पतालसम्म पुग्दैनन् । बरु धामी झाँक्री कहाँ झारफुकका लागि धाउछन् ।

तमानखोला गाउँपालिकाले बुकीमै पुगेर गोठाला तथा पशुचौपायाको उपचार गरिएको छ । बर्खायाममा तमानखोलाका अधिकांश किसान पशुचौपाया लिएर बुकी उक्लिने हुँदा गाउँपालिकाको स्वास्थ्यकर्मीसहित टोली गोठमै पुगेर गोठाला र पशुचौपायको उपचार गरेको हो ।

गाउँपालिकाबाट गएको स्वास्थ्यकर्मी र पशु प्राबिधिकको टोलीलेले गुर्जाघाट क्षेत्रमा ‘क्याम्प’ संचालन गरेर उपचार गरेको छ ।

बागलुङ र म्याग्दीको संगमस्थलको रुपमा रहेको गुर्जाघाटमा तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर पुगेका छन् ।

लेकमा भएका नागरिक र पशुचौपायालाई आधारभूत स्वास्थ्य सेवा दिन बुकीमै शिविर संचालन गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

बालबालिकासहित वृद्धवृद्धासमेत बुकीमै बस्ने भएकाले गाउँपालिकाले उनीहरुको स्वास्थ्यलाई मध्यनजर गरि गत वर्षदेखि बर्खाको समय लेकमै पुगेर उपचार गर्ने गरेको उनको भनाइ छ ।

बुकीमा शिविर संचालन गर्दा सामान्य बिरामी भएका नागरिक उपचारका लागि दिनभर लगाएर स्वास्थ्य संस्थामा आउन पर्ने बाध्यताको अन्त्य गर्न दुई दिन शिविर संचालन गरेको उनले जानकारी दिए ।

गाउँपालिकाबाट स्वास्थ्यकर्मी र पशु प्राबिधिकसहित १७ जनाको टोली बुकी पुगेर शिविर संचालन गरिएको स्वास्थ्यकर्मी हरि छन्त्यालले जानकारी दिए ।

बुकीमा ५० वर्षमाथिका गोठालाको सुगरसमेत परीक्षण गरेको उनले बताए । बुकीमा १५० बढी गोठाला र सयौँ पशुको उपचारसँगै औषधी वितरण गरेको छन्त्यालले बताए ।

शिविरका लागि लायन्स क्लव अफ तमानखोलाले समन्वय गरेको हो ।

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०२:२९
हजुरको प्रतिक्रिया