पोखरा
अनेरास्ववियु कास्कीले विद्यार्थी बोक्न प्रयोग हुने बसलाई नियमित अनुगमन गर्न माग गरेको छ ।
स्कुल बसहरुले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्दा दुर्घटना बढेको भन्दै अनेरास्ववियु कास्कीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई स्कुल बसलाई नियमित चेकजाँच गर्न ध्यानाकर्षण गराएका हुन् । अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले ५ बुँदे माग राख्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ध्यानाकर्षण गराए ।
विद्यार्थी ओसारपोसार गर्ने बसहरूको नियमित रूपमा चेकजाँच गर्न र अत्याधिक गतिका साथ गुडाइएको पाइएको भन्दै कानुनी दायरामा ल्याउन माग गरिएको अध्यक्ष पोखरेलले बताए ।
यस्तै सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने, अन्य व्यवसायमा सञ्चालित बसलाई खाली समयमा विद्यालयले प्रयोग गर्ने, मापदण्ड विपरित र दुर्व्यसनीमा फसेका व्यक्तिले विद्यालयको बस चलाउने देखिएको भन्दै अनेरास्ववियु कास्कीले यसलाई कानुनी दायरा ल्याउन माग गरेको हो ।
माग समाधानका लागि अनेरास्ववियुसहित जिल्ला शिक्षा कार्यालय कास्की, प्याब्सन, एनप्यव्सन सहितको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।
प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०५:४९




