२०८३ साउन २१ गते बिहीबार

पोखराबाट प्रतिबन्धित औषधि बेच्ने दुई पक्राउ, ५० लाखको बरामद

पोखराबाट प्रतिबन्धित औषधि बेच्ने दुई पक्राउ, ५० लाखको बरामद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १७ गते बिहीबार ०८:०६

ट्याबलेटको बजार मुल्य करिब ५० लाख हुने प्रहरीले जनाएको छ ।

पोखरा

पोखराबाट ४३ हजार २ सय ट्याबलेट लागुऔषधसहित कारोबारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरा महानगरपालिका–९ न्युरोडमा रहेको होटल दीपदर्शनबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल दीपदर्शनका सञ्चालक इन्दुदेवी श्रेष्ठ र होटलका म्यानेजर मिलन पौडेल रहेका छन् ।

अबैध लागुऔषधको कारोवार भइरहेको सूचना पाएर छापा हान्दा टपेन्टाडोल र ट्रामाडोल नामक औषधीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए ।

उनीहरुको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ ।

उनीहरुले होटल भाडामा लिएर होटलको साइनबोर्ड पनि नराखी औषधि पसल सञ्चालन गरेका छन् ।

औषधी पसलमा औषध व्यवस्था विभागले चिकित्सको सिफारिसबिना विक्रीवितरणमा रोक लगाएको औषधी विक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । फार्मेसीमा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध बरामद भएको एसपी थापाले बताए ।

नेपाल सरकारले उक्त औषधीलाई गएको जेठबाट प्रतिबन्ध लगाएको छ । एक सय वटा ट्याबलेटलाई १० हजार रुपैयाँमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

४३ हजार २ सय ट्याबलेटको बजार मुल्य करिब ५० लाख हुने प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई ७ दिनको म्याद थप गरेर लागुऔषध सम्बन्धि मुद्वामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८१ साउन १७ गते बिहीबार ०८:०६
हजुरको प्रतिक्रिया