पोखरा
मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ । शुक्रबार दिउँसो ४ बजे कास्कीको माछापुच्छ«े गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो ।
आधार शिविरको मुख्य बाटोभन्दा एक हजार २०० मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट छ ।
भेडा चरनका लागि पुगेका गोठालाले कंकाल फेला पारेको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए । उनका अनुसार भेडा चरनका लागि पुगेका गोविन्द गौतमले कंकाल फेला परेपछि तस्बिरसहित जानकारी गराएका थिए ।
४ हजार ५०० मिटरको उचाइमा कंकाल देखेका गौतमले वडाध्यक्ष क्षेत्रीलाई बताएपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई खबर गरेका छन् । वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मी नेतृत्वको टोेली आइतबार घटनास्थलतर्फ लागेको छ ।
पोखराबाट आधार शिविर पुग्न दुई दिनको समय लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए । ‘फेला परेको कंकाल वेपत्ता भएका स्वेडनका नागरिक २२ वर्षीय स्वेडेनका नागरिक मिचल लिउ ब्लोम्बर्गको हुनसक्छ’, उनले अनुमान लगाए ।
जिल्ला प्रहरी कार्यालयले भने लिउकै भएको बताएको छ । लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा वेपत्ता भएका हुन् ।
त्यो दिन मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजि सुरु भएको थियो । लामो समयसम्म खोजी भएपनि अवस्था अज्ञात रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले मोबाइल र ज्याकेटको लोगोेले लिउको कंकाल पुष्टि हुने बताउँछन् ।
‘स्विडेनमा रहेको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइलले लिउकै भएको पुष्टि गरेका छन्’, उनले भने ।
प्रकाशित मिति २०८१ साउन २० गते आइतबार ०१:०६




