२०८३ साउन २१ गते बिहीबार

मर्दीमा मानव कंकाल फेला, वेपत्ता स्विडेनका लिउको भएको पुष्टि

मर्दीमा मानव कंकाल फेला, वेपत्ता स्विडेनका लिउको भएको पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २० गते आइतबार ११:०७

जिल्ला प्रहरी कार्यालय कास्कीले भने फेला परेको कंकाल वेपत्ता भएका स्वेडनका नागरिक २२ वर्षीय स्वेडेनका नागरिक मिचल लिउ ब्लोम्बर्गको भएको जानकारी दिएको छ ।

पोखरा ।

मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ ।

शुक्रबार दिउँसो ४ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो ।

आधार शिविरको मुख्य बाटोभन्दा एक हजार २०० मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट छ ।

भेडा चरनका लागि पुगेका गोठालाले कंकाल फेला पारेको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए । उनका अनुसार भेडा चरनका लागि पुगेका गोविन्द गौतमले कंकाल फेला परेपछि तस्बिरसहित जानकारी गराएका थिए ।

४ हजार ५०० मिटरको उचाइमा कंकाल देखेका गौतमले वडाध्यक्ष क्षेत्रीलाई बताएपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई खबर गरेका छन् ।

वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मी नेतृत्वको टोेली आइतबार घटनास्थलतर्फ लागेको छ ।

पोखराबाट आधार शिविर पुग्न दुई दिनको समय लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए । ‘फेला परेको कंकाल वेपत्ता भएका स्वेडनका नागरिक २२ वर्षीय स्वेडेनका नागरिक मिचल लिउ ब्लोम्बर्गको हुनसक्छ’, उनले अनुमान लगाए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने फेला परेको कंकाल वेपत्ता भएका स्वेडनका नागरिक २२ वर्षीय मिचल लिउ ब्लोम्बर्गको भएको जानकारी दिएको छ ।

लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा वेपत्ता भएका हुन् । त्यो दिन मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजि सुरु भएको थियो ।

लामो समयसम्म खोजी भएपनि अवस्था अज्ञात रहेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले मोबाइल र ज्याकेटको लोगोेले लिउको कंकाल पुष्टि हुने बताउँछन् ।

‘स्विडेनमा रहेको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइलले लिउकै भएको पुष्टि गरेका छन्’, उनले भने ।

प्रकाशित मिति २०८१ साउन २० गते आइतबार ११:०७
हजुरको प्रतिक्रिया