पोखरा ।
देशका विभिन्न ठाउँमा हैजा र डेंगीको संक्रमण बढ्दै गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिलेसम्म पाँच जिल्लामा हैजा र ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको पुष्टि छ ।
दुवै रोगको संक्रमण काठमाण्डांैमा सबैभन्दा बढी देखिएको छ । दुई हप्ताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लाका २७ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार ललितपुरमा १६ र काठमाण्डौंमा एक गरी काठमाण्डौं उपत्यकामा १७ जना, कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ ।
महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ भने हैजा र डेंगीको संक्रमण बढ्दै सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । ।
हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्छ ।
संक्रमण बढ्दै जाँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुन सक्ने लक्षण देखिन्छ ।
डाक्टरहरुकाअनुसार हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्छ ।
खानेपानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न, दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।
यस्तै हैजा लागेको व्यक्तिले प्रयोग गरेको धारा, पानी, खानेकुरा जस्ता वस्तु अर्को व्यक्तिले प्रयोग गरेमा हैजा सर्ने भएकाले बिरामीको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्छ ।
मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लाका दुई हजार भन्दा धेरैलाई डेंगी संक्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यो वर्ष पनि डेंगी उच्च दरमा फैलिन सक्ने जोखिम भएकाले सावधानी अपनाउन स्वास्थ्य विज्ञहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८१ साउन २१ गते सोमबार १०:३४




