प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुलुकका सवैजसो राजनीतिक दलहरु सो कदमको विरोधस्वरुप सडकमा छन् । प्रधानमन्त्री ओलीको कदम असंबैधानिक भन्दै सडकमा रहेको दल जसपा नेपालका केन्द्रीय सदस्य राजन केसीसंग हामीले ताजा जनमतका लागि निर्वाचनमा नजुटेर जसपा नेपाल सडकमा किन आयो ? अबको राजनीति कसरी अघि बढ्छ ? लगायतका विषयमा कुराकानी गरेका छौ । केसी साविक समाजवादी पार्टीको कर्णाली प्रदेश ईञ्चार्ज समेत हुन् ।
बार्दली– प्रधानमन्त्रीले ताजा जनमतका लागि निर्वाचनमा जाऔं भन्दा तपाईंहरु किन डराएको ? निर्वाचनको तयारी नगरेर जसपा नेपाल सडकमा किन ?
केसी – हामी निर्वाचनसंग डराएको होइन् । तर, निर्वाचनमा जाने पनि एउटा बेला हुन्छ, बिधि हुन्छ । हाल निर्वाचित प्रतिनीधिहरुलाई जनताले ५ बर्षका लागि आफ्नो मत दिएका हुन् । पहिलो त, प्रधानमन्त्रीले जे निर्णय गर्नु भयो त्यो नै जनमतको खिलाफमा छ । त्यो निर्णयले जनताको मतको अपमान गरेको छ ।
अर्को, मुलुक के ले चल्छ ? ऐन, नियम, कानुन, संविधानले चल्ने हो कि कसैको सनकले चल्ने हो देश ? प्रधानमन्त्रीले विधि मिच्नु भयो । मनलाग्दी गर्नु भयो । यसरी जे मन लाग्यो त्यही गर्ने हो भने भोलीका दिनमा त्यो नजिरका रुपमा स्थापित हुन्छ । उहाँले अहिले जुन खेल खेल्दै हुनुहुन्छ त्यसको नियमले यसो नगर्न भन्छ । संसदीय व्यवस्थामा खेलेपछि यसैको नियम अनुसार खेल्नु प¥यो नि ! उहाँले त संसद मात्र विघटन गर्नु भएको छैन् । जनयुद्ध, जन आन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलव्धीहरुमाथी नै सन्देह गर्नुभएको छ ।
अहिलेको लडाईं प्राप्त उपलव्धीहरु गुम्न दिने कि जोगाएर अघि बढने भन्ने पनि हो । यसर्थ, निर्वाचन अर्को प्रकृया हो । अर्को चरण हो । हामी चैं विधि मिचियो, कानुन मिचियो, मिच्न पाईदैंन भनेर सडकमा आएका हौं । निर्वाचनबाट भागेका होइनौं र हामी भाग्दैनौ पनि ।
बार्दली – यहाँहरुले सडकबाट स्थापित गर्न खोजेको चैं के हो ? कसरी खुल्छ यो डेडलकको साँचो ?
केसी – समस्या भनेकै प्रधानमन्त्रीको बल मिच्याँई हो । संसदीय राजनीतिको खेलमा उहाँले रेड कार्ड पाइसक्नु भयो । नियम अनुसार अव उहाँले यो खेलबाट बाहिरिनु पर्छ । उहाँ भने रेड कार्ड पाईसकेपछि पनि मैले खेल्न पाउनुपर्छ भनेर पाखुरा ठेलिराख्नुभएको छ ।
पटक–पटकको यल्लो कार्ड र पछिल्लो रेडकार्डपछि वहाँले जसरी मैदान नछोडी खेलमा धाँधली गर्न खोजिरहनुभएको छ, समस्या त्यहीँ छ । प्रधानमन्त्रीले मैदान छोडेर बाहिर बसिदिनु नै अहिलेको समस्याको समाधान हो ।
प्रसङ्ग बदलौ,
बार्दली – तपाईहरुकै पार्टीमा अनेक समस्या छन् । नियम र विधि अनुसार पार्टीको जिम्मेवारीमा भागवण्डा भएन भन्ने आवाजहरु बाहिरिरहेका छन् । समायोजन प्रकृया ठिक ढङ्गले अघि बढेन पनि भन्छन नि ?
केसी – हाम्रो एकिकरण प्रकृया विधिसम्मत हिसावले अघि बढेको छ । त्यो व्यक्तिले गर्ने कुरा भए पो फलानाले यसो ग¥यो, ढिम्कानाले यसो ग¥यो भन्नु । हामीले जुन कार्यविधि निर्माण गरेका छौ, सोहि अनुरुप हुने भएकोले खास समस्या छैन ।
व्यक्तीका व्यक्तिगत महत्वकांक्षाले कहिँ कतै काम गरेको हुनसक्छ । त्यसलाई व्यवस्थित गरेर जाने सवालमा हामी सचेत छौ । व्यवस्थित गर्न थोरै ढिलाई भएको भने हो । त्यसका पनि कारणहरु छन् । देश यो परिस्थितीमा छ । यसलाई हाम्रा नेता, कार्यकर्ताहरुले मनन् गर्नुहुनेछ भन्ने लाग्छ ।
बार्दली – जसपा नेपाललाई अझै पनि तराई मधेसमा मात्रै वर्चश्व भएको क्षेत्रीय पार्टी भन्ने आरोप छ । हिमाल पहाडमा त तपाईहरुको प्रभाव छैन नि होईन र ?
केसी – हामी यो हिमाल, पहाड, तराई, भन्ने पक्षमा नै छैनौ । हामी नेपाल भन्छौ । हाम्रो प्रभाव र वर्चश्व नेपालमा छ । यो हिमाल, पहाड, मधेस भनेर जसरी राजनीतिक बर्गिकरण गरिएको छ नि यो नेपालमा असफल भइसकेका कम्युनिष्टहरुको कुटिल चाल हो । नयाँशक्ती, समाजवादी पार्टी हुँदै राजपासँगको एकिकरण पछि बनेको जनता समाजवादी पार्टी नेपाल अहिले हिमाल पहाड सवैतिर जनताको आसा भरोसाको पार्टी बनेको छ ।
एकअर्थले जसरी हामीले बर्षौदेखि उत्पिडनमा परेका मधेसी, थारु, अल्पसंख्यक आदीका मुद्धाहरुलाइ प्राथमिकतामा राखेका छौं नि त्यसैका कारण पनि अन्य दलले हामीलाई मधेसको पार्टी, थारुहरुको पार्टी भनेका हुनसक्छन् । यो पनि उनीहरुले हिमाल पहाडमा भन्ने कुरा हो । मधेसमा गएर यीनिहरुले हामीलाई मधेसको पार्टी त जसपा नेपाल हो कहाँ भन्छन् र ! हाम्रो मुद्धा, एजेण्डाहरु दिगो र जनपक्षीय छन् । यसका प्रति आम मानिसहरुको अपेक्षा पछिल्लो समयमा तिव्र रुपमा जागेको छ । जनता जसपा नेपालप्रति आसावादी छन् । हामी यसको सहि ढंगले समाधान गर्दै आम जनताको विश्वास जित्नेक्रममा छौ ।
बार्दली – मौजुदा अवस्थामा आम मानिसहरुको मनमा एउटै जिज्ञासा छ । कि, नेपाली राजनीतिमा अब के हुन्छ । अब के हुन्छ ?
केसी– जनयुद्ध, जनआन्दोलन, मधेसी थारु लगायत उत्पिडनमा परेका बर्ग, समूदायले गरेका पटक–पटकका आन्दोलनबाट प्राप्त उपलव्धी जोगाउनेहरु र त्यसलाई भत्काएर प्रतिगमनमा फर्कन चाहनेहरुका विचमा राजनीतिक युद्ध हुन्छ ।
भर्खर संस्थागत हुन लागेका ती उपलव्धीहरुको घर प्रधानमन्त्रीले भत्काउने प्रयास गर्नुभएको छ । यो घर भत्काउन चाहने र जोगाउन चाहनेहरुका विचमा युद्ध चलिरहन्छ । सोझो र सपाट कुरा यहि हो । हामीलाई थाहा छ जनताले पटकपटकको बलिदानीबाट प्राप्त गरेको उपलव्धी गुम्न दिने छैनन् । यसर्थ, केपी जी छिट्टै यो खेलबाट बाहिरिनुहुनेछ र जनताले फेरि एकपटक जित्नेछन् ।
प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार ०४:४३




