पोखरा
गण्डकी प्रदेशमा मनसुनको ४५ दिनमै ५५ जनाको विपद्को घटनामा परेर मृत्यु भएको छ । तीन जना वेपत्ता भएका हुन् ।
गण्डकीका ११ मध्य मनाङ र मुस्ताङ बाहेकका जिल्लामा बाढीपहिरोले मानवीय क्षति भएको हो ।
बडिगाड गाउँपालिका–१० आरुपाटा (दर्लिङ) मा गत मंगलबार मात्रै भीषण पहिरो खसेर बबण्डर मच्चाउदै १० जनाको ज्यान लियो । एक बालक अझै वेपत्ता छन् ।
बुर्तिबाङ बजार हिँडेकासँगै पहिरोले घर जोखिममा परेपछि सुरक्षित ठानेर आश्रय लिएका छिमेकीसमेत पहिरोमा परेपछि १२ जना घाइते भए । गम्भिर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको काठमाडौंस्थिचत ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।
त्यही दिन बडीगाड गाउँपालिका–९ नयाँबस्तीमा पहिरोमा परेर एक बालकको ज्यान गयो । उर्लेको खहरे खोलाले बगाएर एक जनाको ज्यान लियो ।
गण्डकीमा असार १२ गतदेखि हालसम्म बाढी पहिरोमा परेर ५५ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
ज्यान गुमाउनेमा सबैभन्दा धेरै बाग्लुङ र कास्कीका १४/१४ जना छन् । स्याङजाका ७, गोरखा र लमजुङका ५/५, तनहुँका ४, पर्वत, म्याग्दी र नवलपूरका २/२ जनाले ज्यान गुमाएका हुन् ।
वरिष्ठ प्रहरी उपरीक्षक रेग्मीका अनुुसार बाग्लुङ, तनहुँ र नवलपूरमा १/१ जना वेपत्ता भएका छन् । ३९ जना घाइते भए ।
५९ घर बस्नै नमिल्ने गरेर पूर्ण रुपमा क्षति हुँदा ५४ घरमा आंशिक क्षति पुगेको छ । प्रहरीको तथ्याङक अनुसार २४४ घर पहिरोमा जोखिममा परेका छन् ।
प्रकाशित मिति २०८१ साउन २७ गते आइतबार ०४:२७




