पोखरा
धारिलो हतियार देखाएर गरगहना लुट्ने र चोरीको सुन किन्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राती २ बजेको पोखरा महानगरपालिका–६ लेकसाइडमा २० वर्षीया महिलालाई स्कुटर र मोटरसाइकलमा आएका युवाले चक्कु घाँटीमा राखेर ज्यान लिने धम्की दिदैं लुटेका थिए ।
दुई तोला बराबरको सिक्री र नगद १२ हजार रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
लुटपाटमा संग्लन पोखरा–१८ का ३७ वर्षीय देवन गुरुङ, १९ वर्षीय आजित रुचाल भनेर चिनिने हितमान सार्की, तनहुँको व्यास नगरपालिका –३ घर भइ पोखरा–५ बस्ने १८ वर्षीय अनिश भट्ट पक्राउ परेका हुन् ।
उनीहरुले प्रयोग गरेको ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको डिएसपी शर्माले बताए । खानतलासी गर्दा उनीहरुको साथबाट सुनको सिक्री बिक्री गरेको एक लाख तीन हजार ५०० रुपैयाँ बरामद भएको उनको भनाइ छ ।
सुनको सिक्री किन्ने पोखरा गणेशटोलस्थित विकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद विक र एसपि मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मा समेतलाई नियन्त्रणमा लिइएको छ ।
सोमबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी चोरी तथा डाँका मुद्वामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८१ साउन २९ गते मंगलबार १०:१७




