पोखरा
मानव वेचविखन तथा ओसार पसारमा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षिय एक वालिकालाई अभिभावकलाई कुनै थाहा जानकारी नदिई ललाई फकाई गरेर विश्वास दिलाई चाइनिज नागरिकसँग विवाह गराइदिएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । वालिकासँग विवाह गर्ने चाइनिज नागरिकसमेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३१ वर्षीय चाइनिज नागरिकसहित लमजुङ घर भइ पोखरा बस्ने २२ वर्षीया सरु विक र पोखरा २२ की ३४ वर्षीया भगवती अधिकारी छन् । सरु र भगवतीले वालिकालाई प्रलोभनमा पारी चाइनिजसँग विवाह गराइदिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बालिकासँग विवाह गराइदिएवाफत चाइनिजबाट उनीहरुले आर्थिक लाभसमेत लिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । अभिभावकसँग समन्वय गरी पीडितको उद्दार गरिएको र ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेको भन्दै उजुरी परेपछि कारवाही पक्रिया अगाडि बढाइएको डिएसपी शर्माले बताए ।
तीनै जनालाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ साउन ३० गते बुधबार ०८:०५




