२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण संरक्षण क्षेत्रमा एक वर्षमा लेक लागेर २१ जनाको मृत्यु

अन्नपूर्ण संरक्षण क्षेत्रमा एक वर्षमा लेक लागेर २१ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ६ गते बिहीबार १०:४३

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार मृत्यु हुनेमा ६ जना नेपाली रहेका छन् । लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक रहेको आयोजना प्रमुख डा. रविन कडरियाका जानकारी दिए ।

पोखरा ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष २०८०÷८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार मृत्यु हुनेमा ६ जना नेपाली रहेका छन् ।

लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक रहेको आयोजना प्रमुख डा. रविन कडरियाका जानकारी दिए ।

लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने उनको भनाइ छ ।

लेक लागेका पर्यटकलाई हेलिकप्टरबाटसमेत उद्धार गरेर बचाइएको उनले बताए । आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्यांक राख्न सुरु गरेको प्रमुख डा. कडरियाको भनाइ छ ।

उक्त वर्ष पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको आयोजना कार्यालयले जनाएको छ ।

कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको आयोजना प्रमुख डा. कडरियाले जानकारी दिए ।

मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको थियो ।

अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए ।

जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ।

आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित मिति २०८१ भदौ ६ गते बिहीबार १०:४३
हजुरको प्रतिक्रिया