रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ ।
मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । थापामगर शिक्षिका हुन् । मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् ।
पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् ।
भेटिएका थप ४ वटा शव उनीहरु मध्येकै हुनसक्ने अनुमान प्रहरीको छ ।
गएराति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीयका चारवटा घर बगाएको छ भने पहिरोको कारण पुरै बस्ती जोखिममा छ ।
यसै गरी पहिरोमा पुरिएर गोमा पहरीको घरमा रहेका ३ वटा भैँसी र १० वटा बाख्रा, उर्मिला पहरीका एउटा भैँसी, तीनवटा गाई र १८ वटा बाख्रा तथा कर्णबहादुर पहरीको एउटा बाख्रो पनि बेपत्ता भएका छन् ।
बाढी पहिरोले दुईवटा पक्की पुलमा क्षति गरेको छ । गाउँसम्म जाने बाटो पहिरोले क्षति क्षत विक्षत भएको छ ।
प्रकाशित मिति २०८१ भदौ ९ गते आइतबार १०:०९




