२०८३ साउन २१ गते बिहीबार

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १७ गते सोमबार ०८:४९

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

पोखरा ।

हरेक वर्ष भदौ कृष्ण पक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

यस्तै, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुवाको मुख हेर्ने दिन मनाइँदैछ ।

बुवा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुवा नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाण्डौको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ ।

यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ ।

अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति २०८१ भदौ १७ गते सोमबार ०८:४९
हजुरको प्रतिक्रिया