२०८३ साउन २१ गते बिहीबार

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरी मनाइँदै

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरी मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २३ गते आइतबार ०९:२२

महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

 

पोखरा ।

आज भाद्र शुक्ल पञ्चमी । नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन् । ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन् ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ ।

सप्तऋषिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ ।

महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

ऋषिपञ्चमी व्रत महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

पूजा सकी महिला कर्कलाको तरकारीसँग भोजन गर्छन् । ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ ।

 

प्रकाशित मिति २०८१ भदौ २३ गते आइतबार ०९:२२
हजुरको प्रतिक्रिया