बागलुङ
पहिरोले विद्युत आयोजनाको नहर बगाएपछि बागलुङको निसीखोला गाउँपालिकाका १ हजार ३ सय १३ घरमा विद्युत आपुर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजनाको करिब ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि विद्युत उत्पादन बन्द भएको हो ।
आयोजनाको उत्पादन बन्द भएसँगै सो क्षेत्रका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौर लगायतका ठाउँमा विद्युत आपुर्ति बन्द भएको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाका प्रबन्धक चिरञ्जिवी पौडेलले जानकारी दिए । निरन्तर वर्षासँगै आएको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनको भनाइ छ ।
पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र संचालनमा आउन एक महिना लाग्ने पौडेलले बताए । वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनको भनाइ छ । विद्युत आयोजनाको मुहान नजिकै पहिरो गएको हुँदा काम गर्न पनि कठिन हुने पौडेल बताए । वर्षा रोकिदा साथ नहर निर्माण सुरु गर्ने उनले सुनाए ।
वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता मिलन बुढा मगरले बताए । बाँध तत्कालै बनाउन सकिने अवस्था नभएको बताउँदै उनले खोलाको पानी कात्र्तिकमा मात्रै घट्ने भएको हुँदा झण्डै चार महिना अन्धकारमा परिने उनले बताए ।
विद्युत अवरुद्ध हुँदा यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दुरसञ्चारका टावरहरु समेत प्रभावित भएका छन् । मोबाईलको व्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था आएको पौडेलले बताए ।
‘तीन/चार दिनको वर्षाले विद्युतको मुहान छेउमै २५ मिटर र केही तल १० मिटर नहर बगाएको छ, चाडबाडको बेला विद्युत आपूर्ति बन्द भएको छ, यसबाट सयौँ घरधूरीका हजारौँ उपभोक्ता मर्कामा पर्नु भएको छ, वर्षा रोकिदा बित्तिकै काम सुरु गर्ने छौँ, विद्युत संचालनमा आउन एक महिना लाग्ने छ,’ उनले भने ।
प्रकाशित मिति २०८१ भदौ २७ गते बिहीबार ०७:०७




