बागलुङ
भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहित पहिरो झर्दा कोरिडोर पूर्ण रुपमा बन्द भएको हो ।
दुई महिनादेखि अवरुद्ध सडक बिहीबार मात्रै संचालनमा आएको थियो । तर बिहीबारदेखि नै भारी वर्षा हुँदा कोरिडोर अवरुद्ध भएको प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले जानकारी दिए । सडक पूर्ण रुपमा बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रदेखि जिल्ला सदरमुकामको सिधा सम्पर्क बिच्छेद भएको उनको भनाइ छ ।
चिन–भारत जोड्ने गरि निर्माण भएको कोरिडोर बर्खाको समयमा महिनौँ बन्द हुने गरेको छ । सडक अवरुद्ध हुँदा बागलुङ बलेवा, जैमिनी, बरेङ संचालन हुने यातायात ठप्प हुँदा यात्रु अलपत्र परेको गुरुङले बताए । कोरडोर हुँदै बुटवल, भैरवाह दलगायत तराई क्षेत्रमा संचालन हुने यातायात बर्खा सुरु भएपछि चल्न सकेका छैनन् ।
करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइए पनि ठूलो वर्षाका कारण यातायातका साधान चल्न सकेका छैनन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन संभव नभएको चौकी प्रमुख गुरुङले बताएका छन् ।
प्रकाशित मिति २०८१ असोज ११ गते शुक्रबार ०७:००




