नवलपुर ।
बिहिबारदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ ।
नवलपुरको गैडाकोट नगरपालिका २ सुकुम्बासी टोल र बोट टोलमा नारायणी नदीको पानी पसेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणी नदीबाट पसेको पानीले गैडाकोट २ मा कुनै मानवीय क्षति नभएका भएपनि ४ वटा बंगुर भने बगाएर लगेकोे छ ।
बाढीले यहाँ एक सय ५० घर डुबानमा परेको प्रहरीले जनाएको छ । यहाँ बाढिमा फसेकालाई जनपथ प्रहरी, सशस्त्र प्रहरीले विहानै उद्दार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।
त्यसैगरी गैडाकोट ९ को थुम्सी आसपासको क्षेत्रमा ५० घर र गैडाकोट १० पितौजीमा ३० घर डुबानमा परेको छ ।
त्यसैगरी लगातारको बर्षाले नवलपुरको मध्यविन्दु २ सेहरीमा नारायणी नदीको पानी पसेको छ । यहाँ पानी मानव वस्तीमा पस्दा १९ घर डुबेको छ । यहाँ ७० जनालाई उद्दार गरेर सुरक्षित स्थानतर्फ सारिएको र उद्दार कार्य चलिरहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।
त्यसैगरी कावासोती १५ बाघखोरमा रहेको अमलटारी होम स्टे भिलेज पुरै डुबानमा परेको छ ।
यहाँ ४० घर बढी डुबानमा परेको हो । केरुङ्गे खोला र नारायणी नदीका पानी पसेपछि यहाँ डुबानमा परेको हो ।
त्यसैगरी नवलपुरको कावासोती १७ अमलटारीको मानववस्तीमा नारायणी नदीको पानी पस्दा यहाँ रहेको १ सय ५० घर डुबानमा परेको छ । यहाँ ३ सय जना जति विस्थापित भएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।
त्यसैगरी नवलपुरको मध्यविन्दु नगरपालिका १२ मजिनीभारमा रहेको ५० बर्षीय डिला कुमालको कच्ची घरमा पानी पसी डुबान भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मध्यविन्दु नगरपालिका १५ को चिसापानीमा नारायणी नदी टतीय क्षेत्रमा नारायणी नदीको पानी पस्न जाँदा १३ वटा घर र ४ वटा होम स्टे डुबेको छ ।
यहाँ ८÷९ फिट पानी जमेको प्रहरी चौकी तम्सरियाले जनाएको छ ।
उनीहरुलाई सुरक्षित स्थानमा सारिएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०५:५८




