पोखरा ।
पोखरा महागनरपालिका वडानम्बर ४ ले चाडपर्व केन्द्रीत बजार अनुगमन गरेको छ ।
अनुगमनको क्रममा म्याद गुज्रेका खाद्यवस्तु बिक्री गरेको पाइएको छ । रामकृष्ण टोलमा रहेको राज स्टोर्समा म्याद गुज्रेका खाद्यवस्तु विक्री गरेको पाइएको हो ।
उक्त पसल शिल गरिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । विगतका वर्षमा पनि उक्त पसलमा म्याद गुज्रेका खाद्यवस्तु तेल, सुजी, चाउचाउ लगायतका वस्तु भेटिएको थियो । पटक पटक चेतावनी दिँदा समेत पसल सञ्चालक राजकुमार गुप्ताले सुधार नगरे पछि पसल शिल गरिएको पराजुलीले बताए ।
अन्य विभिन्न ८ वटा पसललाई सुधारका लागि निर्देशन दिइएको छ । मुल्यसुची नराख्ने, पसलै पिच्छे फरक फरक मुल्य भेटिएको छ । यस्तै अनुगमन टिलीले मासु पसलमा पनि अनुगमन गरेको छ । मासु पसलले कुखुरा र भैसीको मासुसँगै राखेर विक्री गरेको, सरसफाइ नगरेको भेटिएको छ । यस्तै मासु पसलमा कुहिएको दुर्घन्धीत मासु पनि भेटिएको छ । ती पसललाई सरसफाई गर्न र व्यवसाय सुधार गरी सञ्चालन गर्न सुझाव दिइएको छ । पहिलो दिन ३० वटा पसलमा अनुगमन गरिएको र अनुगमनलाई निरन्तरता दिने वडाध्यक्ष पराजुली बताएका छन् ।
प्रकाशित मिति २०८१ असोज १८ गते शुक्रबार ०७:४६




