२०८३ साउन २१ गते बिहीबार

स्याङ्जामा पाकेको धान खेतमै झर्न थाल्यो, वर्षाका कारण धान थन्क्याउन समस्या

स्याङ्जामा पाकेको धान खेतमै झर्न थाल्यो, वर्षाका कारण धान थन्क्याउन समस्या

युवराज पौडेल

@Public 4K Tv

२०८१ कात्तिक ५ गते सोमबार ११:०१

स्याङ्जाका पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भीरकोटलगायतका पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेंलपुर भएको छ । कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्र्याउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालिसकेपछि किसान चिन्तित भएका छन् ।

स्याङ्जा ।

स्याङ्जा जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण किसानहरुले लगाएको धान बिग्रेको छ ।

दैनिकजसो लगातार पानी परिरहेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानहरुले घर भित्र्याउन नपाउँदा किसानहरु समस्यामा परेका छन् ।

स्याङ्जाका पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भीरकोटलगायतका पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेंलपुर भएको छ ।

कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्र्याउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालिसकेपछि किसान चिन्तित भएका छन् ।

सुकेको धान रातभरि पानी आएपछि भिजेपछि रातभरि निद्रा नलागेको पुतलीबजारका कृषक सुकबहादुर नेपालीको दुखेसो छ ।

यता धान काटिसकेका किसानहरुको पनि खेतमा पानीको ताल परेर धान डुबेको छ । किसानले काटिसकेको धानका निहिन पानीमा डुबेका छन् भने धानखेतमा पानि पसेपछि धान ठटाएर घर भित्र्याउन नपाएको अर्का किसान देउबहादुर नेपालीको गुनासो छ ।

विगत एक हप्तादेखि लगातारजसो पानी परेर किसानहरुको धान पराल खेतमै कुहिएको छ । धान मात्र नभए परालसमेत काम नलाग्ने अवस्थामा पुगिसकेको छ ।

यसपालि प्रायजसो हाइब्रिड जातका धान लगाइएकाले धान कार्तिक नलाग्दै पाकेको र पानीको चपेटामा परेको किसान रामेश्वर लामिछानेले बताए ।

मौसम अनुकूल भएको हुन्थ्यो भने यतिबेलासम्म धेरैजसो पहाडी फाँट र टारीहरुको धान करिब थन्किइसक्थ्यो, तर मौसममा आएको अस्वाभाविक प्रतिकूलताका कारण किसानको मिहिनेतको फल खेतमै खेर जाने अवस्था आएको छ ।
घाम नलाग्ने छाँट देखेपछि कतिपय किसानहरुले धान पाकेर खेतमा झर्नुभन्दा पानीमै भिजाएर भए पनि धान ठटाएर लैजान थालेका छन् ।

ठुलीबेसी, लामागे, सेतीदोभान, दरौँखोलालगायतका फाँटहरुमा धान पाकेर झर्न थाले पनि मौसमका कारण किसान खेतमा पस्न सकेका छैनन् ।

 

प्रकाशित मिति २०८१ कात्तिक ५ गते सोमबार ११:०१
हजुरको प्रतिक्रिया