पोखरा
एभरेस्ट एफएमले आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न भन्दै एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गणमा चल्ने एफएमले जनाएको छ ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न लागेको एफएमले जनाएको छ ।
उनले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गरे । एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन गर्न सफल भएको थियो ।
१७ देखि ६५ वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका स्वस्थ मानिसले रक्तदान गर्न सक्नेछन् । यसअघि ६० वर्षसम्मकाले मात्रै रक्तदान गर्न मिल्ने भनिदै आएका थियो तर पछिल्लो क्रममा ६५ वर्षसम्मकाले रक्तदान गर्नसक्ने जनाइएको छ । त्यस्तै उच्च रक्तचाप भई औषधी सेवन गरेकालेपनि औषधी सेवनपछि सामान्य रक्तचाप भएको अवस्थामापनि रक्तदान गर्नसक्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।
प्रकाशित मिति २०८१ कात्तिक ९ गते शुक्रबार ०५:५०




