लमजुङ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा भएको दोस्रो मस्र्याङ्दी महोत्सव अन्तर्गत विहिबार जगत तातोपानी महोत्सव सम्पन्न भएको छ ।
जगत तातोपानी व्यवस्थापन समितिका अध्यक्ष अदम सिं गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम तातोपानी कुण्डको पर्यटन प्रबर्धन गर्नु रहेको गाउँपालिकाले जनाएको छ । महोत्सवमा प्रमुख अतिथि रहेका मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले महोत्सव मेला जस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति लगायत पर्यटकीय स्थानलाई विश्वसामु चिनाउने बताए । यसैगरी पालिका अध्यक्ष गुरुङले यस स्थानमा पर्ने तातोपानी कुण्डलाई विश्वसामु चिनाउन महोत्सवले सहयोग गर्ने बताए । जसबाट स्थानीय उत्पादनको विक्रि वितरण हुने, कृषकको उत्पादनले बजारीकरण पाउने र अर्थतन्त्रको समेत चलायमान हुने भएकोले पालिकाले यसको विकास गर्न चाहेको बताए ।
अहिलेको समयमा विभिन्न संघसंस्थासँग सहकार्य गरेर यसलाई विश्वसामु चिनाउन पालिका लागि परेको जानकारी दिए । कार्यक्रममा स्थानीय परम्परा संस्कृति झल्कने साँस्कृतिक प्रस्तुति, मारुनी नाच प्रस्तुत गर्नुको साथै कुण्डमा अतिथिहरुको स्नान कार्यक्रमको आयोजना गरेका थिए । यसैगरी कार्यक्रमको अवसरमा स्थानीय कलाकार पासाङ गुरुङको समेत प्रस्तुति रहेको थियो । कार्यक्रम पर्यटकीय पदमार्गमा पर्ने भएको कारणले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामायाँ थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाई, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, पालिकाको वडा नं. ४ का अध्यक्ष बल बहादुर गुरुङ, २ का अध्यक्ष चेत बहादुर गुरुङ, वडा नं. ३ का अध्यक्ष दुधमान तामाङ, वडा नं. ५ का अध्यक्ष घनश्याम घले, वडा नं. ७ का अध्यक्ष तील बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, लमजुङ भ्रमण बर्ष २०८१ का पदाधिकारीहरु, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, सुरक्षाकर्मी र जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८१ कात्तिक ३० गते शुक्रबार ०२:१२




