गोरखा ।
युनाईटेड सेभेन युथ क्लबले साँस्कृतिक कार्यक्रम मार्फत देउसी भैलो खेलेर संकलन गरेको रकमबाट विपन्न विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले सामाजिक कार्यमा खर्च गर्ने गरि देउसी भैलोबाट संकलन गरेको रकम मध्येबाट नवज्योति माध्यामिक विद्यालय, गोरखा नगरपालिका(७ स्थित डण्डीडाँडाका विपन्न विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको युनाईटेड सेभेन युथ क्लबका अध्यक्ष श्याम आलेले बताए।
अध्यक्ष आलेका अनुसार सो विद्यालयका ५२ जना विद्यार्थीलाई ज्यामिति बक्स र क्यालकुलेटर लगायतका शैक्षिक सामाग्री बितरणका साथै आउदै गरेको बिधालय को स्वर्णमहोत्सवको लागि ११ हजार १ सय १ रुपैयाँ रकम पनि सहयोग गरिएको हो । सो अवसरमा विद्यार्थिलाई क्लबका अध्यक्ष आले, क्लबका अन्य सदस्यहरु तथा विद्यालयका शिक्षकहरुले शैक्षिक सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन्।
क्लबले संकलन गरेको बाँकी रकमहरु पनि आवश्यक अनुसार गरिब, असहायको सहयोग लगायत सामाजिक कार्यमा खर्च गर्ने जनाउँदै उनले आफुहरुले यसअघि पनि विभिन्न सहयोगहरु गर्दै आएको बताए ।
देउसी भैलो खेलेर पिकनिक गर्ने, विभिन्न पार्टी गर्ने परम्परालाई अहिलेका युवाले समाप्त पार्दै सो रकमलाई विभिन्न सामाजिक कार्यमा खर्च गर्न शुरु गरेका छन् । यसले समाजमा निकै राम्रो सँदेश गएको डण्डीडाँडाका अगुवाहरुले बताएका छन् ।
प्रकाशित मिति २०८१ मंसिर ७ गते शुक्रबार ०६:३१




