बागलुङ ।
धवलागिरी बहुमुखी क्याम्पस बागलुङले गुणस्तर सुनिश्चय प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेसँगै लगातार उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको छ । विशेषगरी बीबीए कार्यक्रम सञ्चालनपछि क्याम्पसले शतप्रतिशत उत्तीर्ण परिणामसहित एकपछि अर्को उत्कृष्ट विद्यार्थी तयार गरिरहेको हो ।
यस वर्ष बीबीएको आठौं सेमेस्टरका विद्यार्थी लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट भएका छन् । गत वर्ष प्रतिक्षा गौतम नेपाल टप भएकी थिइन् । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायका अनुसार, हरेक सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउँदै क्याम्पसले आफ्नो प्रतिष्ठा उचाइमा पु¥याएको छ ।
गत असार ६ गते विश्वविद्यालय अनुदान आयोगले धवलागिरी बहुमुखी क्याम्पसलाई गुणस्तर प्रत्यायन दिने निर्णय गरेको थियो । यो प्रमाणपत्रले क्याम्पसलाई नयाँ संकाय थप्ने अधिकार दिएको छ । विज्ञान र बीबीएजस्ता संकायहरूमा उत्कृष्ट नतिजा देखिएपछि क्याम्पसको प्रतिष्ठा झन् उचाइमा पुगेको छ ।
हाल क्याम्पसमा कुल प्राध्यापकहरूको ५० प्रतिशत स्थायी गरिएका छन् भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणालीसमेत सञ्चालन भइरहेको छ । भौतिक संरचना सुधार, पुस्तकालय, प्रयोगशाला, र प्रविधिमैत्री शिक्षणमा समेत प्रगति गर्दै धवलागिरी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको नजरमा अब्बल बन्दै गएको छ ।
पछिल्लो तीन वर्षमा विज्ञान, व्यवस्थापन, मानविकी, र शिक्षाका विद्यार्थीहरूले अनुसन्धानमूलक काममा सक्रियता देखाइरहेका छन् । कृषि, व्यवसाय, उद्योग, र बजारबारे विद्यार्थीहरूले अनुसन्धान गरेका छन्। क्याम्पसले आयोगद्वारा तोकिएका १०८ सूचक पूरा गरेपछि क्युएए प्राप्त गरेको हो ।
प्रकाशित मिति २०८१ मंसिर १० गते सोमबार ०२:०७




