पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर २४ का नागरिकले खानेपानी र सडक संजालका कारण अप्ठ्यारो भोग्नु परेको बताएका छन् ।
वडा नम्बर २४ को कार्यालय कास्कीकोटमा संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको कार्याक्रममा सहभागी स्थानीयले धार्मिक र पर्यटकीय सम्भावना भएपनि संरचना निर्माण नहुदाँ पछाडी पर्नुपरेको गुनासो गरेका हुन् ।
समयमा विकास निर्माण र निर्माण भएका अयोजना पनि समयमा सम्पन्न हुन नसक्दा वडाबाट बसाइ सर्ने क्रम बढेको उनले बताए । चिसापानी र पामेका जनतालाई वडासम्म आउने बाटो नहुदाँ घुमाउरो बाटो प्रयोग गर्नुपरेको वडावासीले गुनासो गरे ।
उचाइमा रहेका कारण खानेपानीको समस्यबाट समेत प्रताडित हुन परेको भन्दै स्थानीयले एक घर एक धारा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारसंग माग गरे ।
सहभागी स्थानीयले महानगरको वडा भएर पनि पछाडि पर्नुपरेको गुनासो मात्र गरेनन् । गाउँमा स्वास्थ्य सेवा समेत गुणस्तरीय हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।
नागरिक सुनुवाईमा सहभागी वक्ता गण्डकी प्रदेश सभा अन्र्तगतको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले पहुँचका भरमा नभई आवश्यकताका आधारमा योजना छनोट गर्नेपर्ने विषयमा समितिले सरकारको ध्यानाकर्षण गराएको बताए ।
संघीयतामा गएर तीन तहका सरकार बने पनि केन्द्रीक्रित मानसिकताबाट देशले उन्मुक्ती पाउन नसकेको भन्दै अर्यालले केन्द्रको अनुदार नीतिका कारण प्रदेश सरकार सिमित बजेटमा खुम्चीनुपरेको सुनाए । कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले स्थानीय जनताका आवश्यकता पुरा गर्न प्रयासरत रहेको बताए ।
प्रकाशित मिति २०८१ मंसिर १३ गते बिहीबार ०७:१८




