काठमाडौं ।
सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समिक्षा गर्ने बताए ।
उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए ।
स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको उनको भनाइ छ । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उनले बताए ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको उनले दाबी गरे ।
अहिले पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट पुष्टि हुन नसकेको उनको तर्क छ ।
जनताले अहिले पनि पुराना राजनीतिक दलहरुमा आशा र विश्वास कायमै राखेको भन्दै उनले राष्ट्रिय राजनीतिमा पुराना दलहरुको भुमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको जिकिर गरे ।
उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ मंसिर १९ गते बुधबार १०:५७




