प्रेस चाैतारी र प्रेस यूनियन प्यानलसहित भिडन्तमा
पाेखरा । नेपाल पत्रकार महासंघ कास्कीकाे आशन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । यही चैत २५ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको हो । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी फिर्ता भने सोमबार हुनेछ । महासंघ कास्कीको २२ पदका लागि ४७ जनाको उम्मेदवारी परेको छ ।
महासंघ कास्कीकाे आशन्न निर्वाचनका लागि पत्रकारहरूका विभिन्न दलीय भातृ संगठनहरूले आफ्नाे अनुकुलताकाे प्यानल नै बनाएर उमेद्वारी दर्ता गरेका हुन् । जस अन्तरगत प्रेस यूनियन, प्रेस सेन्टर र माधव नेपाल समूहका पत्रकारहरूकाे एक प्यानल तयार भएकाे छ भने प्रेस चाैतारीले विभिन्न साना संगठनसँग सहकार्य गरेकाे छ ।
यूनियन नेतृत्वकाे प्यानलबाट अध्यक्षमा बिमला भण्डारीले नेतृत्व गरेकी छिन् भने चाैतारी प्यानललाइ केशव शरण लामिछानेले नेतृत्व गरेका छन् ।
भण्डारीले नेतृत्व गरेकाे प्यानलबाट उपाध्यक्षमा प्रेस सेन्टरका रामप्रसाद तिमिल्सिनाले उमेद्वारी दर्ता गरेका छन् भने चाैतारी प्यानलबाट अर्जुन गिरीकाे उमेदवारी दर्ता भएकाे छ । उपाध्यक्षमा प्रेस चाैतारीकै रञ्जन अधिकारीले पनि स्वतन्त्र उमेद्वारी दर्ता गरेका छन् । महिला उपाध्यक्षमा चाैतारीबाट जमुना शर्मा र यूनियनबाट रबिना आलेको उम्मेदवारी परेको छ ।
यस्तै सचिवमा चाैतारीबाट उमेद्वारी दर्ता गरेका माधव बरालकाे प्रतिष्पर्धामा सेन्टरबाट दिपक परियारले उमेद्वारी दर्ता गरेका छन् । सचिव पदमा गाैतम रानाभाटकाे स्वतन्त्र उमेद्वारी परेकाे छ ।
समावेशी सहसचिवमा चाैतारीले दीपककुमार श्रेष्ठलाइ उभ्याएकाे छ भने उनकाे प्रतिष्प्रर्धामा यूनियनका रेम बहादुर विक उभिएका छन् । सहसचिवमा चाैतारीका मान बहादुर घर्ती एमबी आस्थासँग यूनियन प्यानलबाट माधव नेपाल समूहका श्रीराम सिग्देलले भिडन्त गर्नेछन् ।
यता, कोषाध्यक्षमा चाैतारीबाट एकराज गिरी र यूनियन प्यानलबाट सेन्टरका कृष्ण दवाडी भिडन्तमा छन् । काेषाध्यक्ष पदमै ओमप्रकाश उपाध्यायकाे स्वतन्त्र उमेद्वारी परेकाे छ । आदिवासी जनजाति सदस्यमा खीमाकुमारी गुरुङ र पदम श्रेष्ठ, अन्य समावेशी सदस्य पदका लागि जैनव खातुन र सूर्यबहादुर परियारले उम्मेदवारी दिएका छन् ।
चाैतारीले विभिन्न साना संगठनहरूसँग समन्वय गरेकाे भएपनि शिर्ष पदका लागि चाैतारीबाटै उमेदवार उठाएर भिडने गरि तयारी थालेकाे छ । यूनियन प्यानलले भने शिर्ष पदहरूमा समेत भागवण्डा गरेकाे छ ।
यसैगरी खुला कार्यसमिति सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ । जसमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धनबहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीमबहादुर थापा (भीम भाई), भेषराज सुवेदी (जीवन सुवेदी), रोहितराज पराजुली, शिवराज वस्ताकोटी (शिव दाई), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरुङ (युनिश) र हरि पन्त रहेका छन् ।
यता, राष्टिय परिषद सदस्यमा १४ जना र प्रदेश परिषद सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति २०७७ चैत २२ गते आइतबार ११:११




