काठमाडौं ।
काठमाडौंका पूर्वमेयर पिएल सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तहको निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
लामो समयदेखि अस्वस्थ रहेका उनको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका उनी राजनीतिप्रति वितृष्णा भएपछि निष्कृय भइ बसेका थिए ।
पूर्वमेयर सिंहको निधनको शोकमा काठमाडौ महानगरपालिकामा आज सोमबार शोक बिदा दिइएको छ ।
पूर्वमेयर सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।


यसैबीच सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्न लागिएको हो ।
त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने उनी निकट स्रोतले जनाएको छ ।
पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।
प्रकाशित मिति २०८१ पुस १ गते सोमबार १०:४३




