पोखरा ।
नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागीता रहेको छ ।
भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहु–भाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहि आएका भेषभुषा, कला, संस्कृति तथा भाषा जस्ता महत्त्वपूर्ण पक्षहरूको संरक्षण तथा संवद्र्धन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेशभित्र १०६ वटा भाषाहरू प्रचलनमा रहेको उल्लेख गर्दै सबै भाषाहरूलाई जोगाउँदै गण्डकी प्रदेशलाई भाषा तथा सांस्कृतिक रूपमा उदाहरणीय बनाउन प्रज्ञा प्रतिष्ठान सक्रिय रहेको जानकारी दिए ।
कार्यक्रममा खेन्पो फुन्छोग लामा, भाषा प्रशिक्षक मिङ्मार ह्योल्मो, पोखरा ह्योल्मो गुम्बा समितिका अध्यक्ष सुमित्रा ह्योल्मो लगायतले ह्योल्मो भाषा पुरानो तथा उत्कृष्ट रहेको र लवज एवं व्याकरण समेत उत्कृष्ट रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम नेपाल ह्योल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोको अध्यक्षता भएको थियो ।
प्रकाशित मिति २०८१ पुस १० गते बुधबार १०:३०




