अब के हुन्छ ?
पोखरा । गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै अधिवेशन अन्त्य गरिएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले दिएको जानकारी अनुसार बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमाेजिम प्रदेशसभाको चालु अधिवेशन बैशाख १ गते राती १२ बजेदेखि अन्त्य भएको प्रदेश प्रमुख अमिक शेरचन हस्ताक्षरित पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।
अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयमा बिहानै दर्ता भएको छ । बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ । संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ ।
यता, बुधबार नै अविश्वास प्रस्ताव दर्ता गर्ने गरि कांग्रेस, माओवादी र जसपा आन्तरिक छलफलमा जुटिरहेका थिए ।
अब के हुन्छ ?
अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा सभामुखले सहमतिमा फेरि अधिवेशन बोलाउन सक्छन् । यदि त्यसो हुन सकेन वा सभामुखले त्यसो नगरेको अवस्थामा प्रदेशका एक चाैथाई सांसदले विशेष अधिवेशन माग गर्न पाउने प्रावधान छ ।
विशेष अधिवेशन माग भएको अवस्थामा नयाँ अविश्वास प्रस्तावसँग सम्वन्धित प्रकृया सोहि सभाले टुङ्गो लगाउन सक्छ ।





