म्याग्दी ।
अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने नेपाली समुदायले स्थापना गरेको लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलको बालमन्दिर मावि र बेनपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयलाई सहयोग गरेको छ ।
लायन्स क्लव अफ लभ्लीहिलको स्थानीय व्यवस्थापनमा बेनी नगरपालिकाका मेयर सुरत केसी, लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजका चार्टर प्रेसीडेन्ट बैकुण्ठमान श्रेष्ठले बालमन्दिर माविमा ९ थान कम्प्यूटर, इन्टरनेट जडान, पूरानो कम्प्यूटर तथा विधुत् मर्मत, रङरोगन र सन्देशमुलक आर्ट गरी कुल ५ लाख ५० हजार बराबरको सहयोग गरेका छन् ।

त्यस्तै बगरफाँटको सरस्वती आधारभुत माविलाई एक लाख बराबरको दुई थान कम्प्यूटर र एक थान कलर प्रिन्टर सहयोग हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव सञ्चालन गरेपनि प्रभावकारी रुपमा सञ्चालन नहुने समस्या रहेको बताए ।
सामुदायिक विद्यालयमा कम्प्यूटर कक्ष माकुराले जाल लगाइरहेको अवस्थामा भेटिने, मर्मतमा समेत चासो नदेखाउने, सरकारी अनुदान र अन्य सहयोगको सदुपयोग नहुने जस्ता समस्या देखिएको मेयर केसीको भनाई थियो ।

सहयोगदाता लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजका चार्टर प्रेसीडेन्ट बैकुण्ठमान श्रेष्ठले नियमित कक्षा सञ्चालनका लागी मर्मत कोष समेत आवश्यकता रहेकोमा जोड दिए ।
विद्यालय र विद्यार्थीको समस्याका बारेमा पत्रकार महासंघका अध्यक्ष गौतमले बनाएको भिडियो प्रस्तुत गरी आर्थिक संकलन गरिएको थियो ।
यसैबिच च्यारेटी डिनरका लागि तयार पारिएको भिडियोमा प्रस्तुत गरिएकी सरस्वती आधारभुत माविकी कक्षा ६ मा अध्ययनरत छात्रा सृष्टि विकलाई ३० हजार, बालमन्दिर माविमा कक्षा ८ का रिजन विक र कक्षा ५ की सोनिया क्षत्रीको पठनपाठनका लाई प्रति विद्यार्थी ३० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

विद्यालयमा कम्प्यूटर कक्षा सञ्चालनमा समस्या भइरहेको अवस्थामा उक्त सहयोगले निकै राहत भएको छ ।
स्थानीय आयोजक लायन्स क्लव अफ लभ्लीहिलका अध्यक्ष सोहन श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव ओमप्रसाद शर्माले गरेका थिए ।
प्रकाशित मिति २०८१ पुस १३ गते शनिबार ११:००




