तनहुँ ।
लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा महोत्सव हुने भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाईको सह–आयोजनामा यही पुस २५ गतेदेखि फागुन ७ गतेसम्म नवौं तनहुँ महोत्सव हुने भएको हो ।
“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ ।
किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्नेलगायतले गर्दा जमिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्न लागेको उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए ।
बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महंगो मूल्यमा किनुपर्ने बाध्यता भएकाले किसानलाई संरक्षण गर्न महोत्सव गर्नु परेको मिश्रले बताए ।
मिश्रले भने, ‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्धेश्यले महोत्सव गर्न लागेका हौं, किसानलाई स्टलको पैसा तिर्नुपर्दैन ।’

किसानलाई बढी फाइदा होस् भनेर पालिकासँग समन्वय गरेर निशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भईरहेको मिश्रले जानकारी दिए । हौसला दिन उत्कृष्ट किसानलाई सम्मान गरिने पनि उनले बताए ।
महोत्सवले कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण र नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै व्यावसायिक कृषि पेसामा आवद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा कृषिअन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । त्यस्तै अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ ।
दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महोत्सवबाट बेरोजगार युवा व्यवसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यवसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठले बताए ।
महोत्सवमा दुई सय वटा स्टलहरु रहने र एक सय वटा बुकिङ भईसकेको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार १०:२८




