पोखरा । गण्डकी प्रदेशमा आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ ।
अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितका दलको संयुक्त बैठक बस्दै छ । बैठकपछि प्रदेससभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिने बताइएको छ ।
आजै प्रदेश प्रमुखसमक्ष समावेदनको माग गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
संविधानको धारा १८३ (३)मा ‘प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने’ व्यवस्था छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।
सवैभन्दा सुरक्षित मानिएको गण्डकी सरकार नेकपा माओवादी केन्द्रले चैत २५ गते दुई मन्त्रीलाई फिर्ता बोलाएपछि संकटमा परेको हो । पृथ्वीसुब्बा नेतृत्वको गण्डकी प्रदेश सरकार ढालेर नयाँ सरकार निर्माणकाे प्रकृयामा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी एक ठाउँ उभिंएपनि गण्डकीमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले भने यहि सरकारलाई समर्थन कायम राखेको थियो । तर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि हालतमा अहिलेको सरकारलाई समर्थन गर्न नसकिने र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर जाने बताएपछि पृथ्वीसुव्वा नेतृत्वको सरकार दिनगन्तीमा परेको हो ।
गण्डकी प्रदेश सभामा कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ । माओवादीका एक जना सांसद सभामुख भएकाले पृथ्वीसुब्बाको विपक्षमा बहुमत ३१ जना पुग्ने भएको हाे ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएपछि हठात् गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो ।
प्रकाशित मिति २०७८ वैशाख २ गते बिहीबार ०१:०२




