पोखरा
सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै शिक्षामन्त्री विद्या भट्टराईको जिल्लाका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । कास्कीका ३५ शिक्षकले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका हुन् ।
२०७५ चैत ४ गते पछि स्थायी भएको शिक्षकहरुले अध्यादेशमा असहमति जनाउँदै राजीनामा पेस गरेका हुन् । शिक्षकहरुमाथि सरकारले अन्यायपूर्ण व्यवहार गर्दै प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानुनको निर्माण गरी अध्यादेश जारी गरेको उनीहरुको आरोप छ ।
शिक्षकलाई गुदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्न सरकार उद्यत भएको महसूस भएको अन्नपूर्ण गाउँपालिका–९, कास्कीस्थित भगवती माध्यमिक विद्यालयका शिक्षक कृतिराज ढकालले बताए ।
अध्यादेशको कार्यान्वयनले सेवा प्रवेशको समयमा भएका व्यवस्थालाई समेत उल्ट्याई करिव ६ वर्ष खाइपाई आएको तलवबाट समेत हिसाब गरी निश्चित प्रतिशत निवत्तिभरण कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ । राजीनामा स्विकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने शिक्षक ढकालले उल्लेख गरे ।
सहभागी शिक्षकले सरकारले गरेको निर्णयवाट पर्ने आर्थिक र मानसिक मर्का सहन नसकी सामूहिक राजीनामा पेस गरेको बताए । सामूहिक राजीनामा बुझ्दै कास्कीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले राजीनामा पत्र सम्बन्धित निकायमा पठाउने सुनाए । शिक्षकको सही मागप्रति सधै शिक्षककै पक्षमा रहेको उनको भनाइ थियो ।
प्रकाशित मिति २०८१ माघ ४ गते शुक्रबार ०२:४३




