२०८३ साउन २१ गते बिहीबार

स्याङ्जाको लामागे फाँट खेतमा बम फेला

स्याङ्जाको लामागे फाँट खेतमा बम फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ९ गते बुधबार ०६:४२

बम द्वन्द्वकालमा २०५८ साल मंसिर ८ गते माओवादीले स्याङ्जा आक्रमण गर्दा छुटेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

स्याङ्जा ।

स्याङ्जामा टु – इन्च मोर्टार सेल (बम) फेला परेको छ ।

स्याङ्जाकाे पुतलीबजार नगरपालिका- १४ लामागे फाँटमा उक्त बम फेला परेको हो ।

स्थानीय विष्णुप्रसाद पौडेलले आफ्नो खेत जेसीबीले सम्याउने क्रममा खेतको सतहबाट १ हात तल तार जडित फलामको बोत्तल जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहान शंकास्पद वस्तु फेला परेपछि प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा शंकास्पद वस्तु र शंकास्पद एरियाको कर्डन टेपद्वारा कर्डन र सुरक्षा दिने काम गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए ।

उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनालाई आग्रह गरिएको डिएसपी पौडेलले बताए । नेपाली सेनाको सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकबाट क्याप्टेन कल्याण थापाको टोलीले उक्त वस्तु टु – इन्च मोर्टार सेल (बम) भएको पुष्टि गरेको छ ।

पोखरा पृतनाबाट बम डिस्पोजल टोलि (नेपाली सेना) आएपछि बम निष्क्रिय गरिने प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

द्वन्द्वकालमा माओवादीले २०५८ साल मंसिर ८ गते स्याङ्जा आक्रमण गरेको थियो । त्यसै बेलामा उक्त बम छुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०६:४२
हजुरको प्रतिक्रिया