बागलुङ ।
बागलुङका झन्डै साढे ११ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
१० देखि १४ वर्ष उमेर समूहका ११ हजार ४९५ जना किशोरीलाई यो खोप लगाउन लागिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार १० पालिकाका ३१२ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने छ । देशभर आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म खोप अभियान सञ्चालन हुनेछ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय नजाने किशोरीलाई लक्षित गरी खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।
उनका अनुसार खोप लगाउन ३१५ जना स्वास्थ्यकर्मी र ६२७ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरूसँग खोप अभियान सञ्चालन गर्न समन्वय गरिने खत्रीले बताए ।
विद्यालयमा रहेका किशोरीलाई विद्यालयमै पुगेर खोप लगाउने तयारी गरिएको र विद्यालय बाहिर रहेका किशोरीलाई पायक पर्ने स्वास्थ्य संस्थामा लगाइने उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार ०१:४९




