२०८३ साउन २१ गते बिहीबार

ट्रम्पद्वारा जेएफके, आरएफके, एमएलके हत्याका बाँकी फाइल सार्वजनिक गर्न कार्यकारी आदेशमा हस्ताक्षर

ट्रम्पद्वारा जेएफके, आरएफके, एमएलके हत्याका बाँकी फाइल सार्वजनिक गर्न कार्यकारी आदेशमा हस्ताक्षर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १३ गते आइतबार ०२:५२

सन् १९६८ मा डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवारीको अभियानको क्रममा उनको हत्या भएको थियो ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जोन एफ. केनेडी (जेएफके), उनका भाइ रोबर्ट एफ. केनेडी (आरएफक) र नागरिक अधिकार नेता मार्टिन लुथर किंग जूनियर (एमएलक) को हत्याका बाँकी फाइलहरू सार्वजनिक गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित रेकर्डहरूबाट जानकारीको निरन्तर सम्पादन र रोक लगाउने कार्य सार्वजनिक हितसँग मेल नखाने भन्दै उहाँले यी रेकर्डहरूको प्रकाशन लामो समयदेखि हुन बाँकी रहेकाले सार्वजनिक गर्न लागिएको बताए । यद्यपि कंग्रेसको कुनैपनि ऐनले सिनेटर रोबर्ट एफ. केनेडी र रेभरेन्ड डा. मार्टिन लुथर किंग, जूनियरको हत्यासँग सम्बन्धित जानकारीको प्रकाशनलाई निर्देशन दिँदैन ।

प्रत्येक हत्यासँग सम्बन्धित संघीय सरकारको स्वामित्वमा रहेका सबै रेकर्डहरूको प्रकाशन पनि सार्वजनिक हितमा रहेको ट्रम्पले उल्लेख गरे । कार्यकारी आदेशमा ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशक र महान्यायाधिवक्तालाई १५ दिन भित्र हत्यासँग सम्बन्धित रेकर्डहरूको पूर्ण प्रकाशनको लागि योजना प्रश्तुत गर्न निर्देशन दिए ।

संयुक्त राज्य अमेरिकाका ३५ औं राष्ट्रपति जेएफकेको नोभेम्बर २२, १९६३ मा टेक्सासको डलासमा मोटरकाडमा सवार हुँदा हत्या गरिएको थियो । ली हार्वे ओस्वाल्डलाई हत्यामा पक्राउ गरिएको थियो । तर हत्याको दुई दिन पछि ओस्वाल्डको अचानक मृत्यु भएको थियो ।

१९९२ मा कंग्रेसले हत्यासँग सम्बन्धित सबै कागजातहरू २५ वर्षभित्र अक्टोबर २६, २०१७ सम्ममा जनतालाई उपलब्ध गराउनुपर्ने आवश्यकता राखेको थियो । जनवरी २०१७ मा शुरु भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले कार्यकारी विभाग र एजेन्सीहरूबाट प्रश्तावित सम्पादनहरू स्वीकार गरे । तर बाँकी सम्पादनहरूको निरन्तर पुनर्मूल्याङ्कन गर्ने आदेश दिए ।

ट्रम्पको उत्तराधिकारी जो बाइडेनले २०२१, २०२२ र २०२३ मा यी रेकर्डहरू सम्बन्धी पछिल्ला प्रमाणपत्रहरू जारी गरे । जसले एजेन्सीहरूलाई कागजातहरूको समीक्षा गर्न र सार्वजनिक खुलासाबाट जानकारी रोक्न थप समय दिएको थियो ।

केनेडी परिवारका अर्का प्रमुख व्यक्तित्व, आरएफके अमेरिकी सिनेटर र महान्यायाधिवक्ताको रूपमा आफ्नो भूमिकाका लागि प्रसिद्ध थिए । सन् १९६८ मा डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवारीको अभियानको क्रममा उनको हत्या भएको थियो । स्वास्थ्य तथा मानव सेवा सचिवका लागि ट्रम्पका मनोनित रोबर्ट एफ. केनेडी जूनियर आरएफके वरिष्ठका छोरा हुन् ।

एमएलके अमेरिकी नागरिक अधिकार आन्दोलनमा सबैभन्दा प्रमुख व्यक्तित्वहरू मध्ये एक हुन् । जातीय पृथकीकरण र असमानता विरुद्धको अहिंसात्मक अभियानप्रतिको उनको प्रतिवद्धता, साथै उनको प्रसिद्ध आई ह्याभ अ ड्रीम भाषणको लागि उनी प्रख्यात छन् ।

प्रकाशित मिति २०८१ माघ १३ गते आइतबार ०२:५२

हजुरको प्रतिक्रिया