काठमाडौं ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिवद्धता जनाएका छन् ।
न्युज एजेन्सी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिवद्धता जाहेर गरेका हुन् ।
जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।
जलवायु परिवर्तनसम्बन्धी मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको पनि सो अवसरमा उनले जानकारी दिए ।
उनले जलवायु परिवर्तनका मुद्दाहरु वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेकोमा जोड दिए ।
मन्त्री ठकुरीले सरकार युवाका मुद्दाहरुलाई गम्भीरताका साथ लिएर युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताए ।
निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको उल्लेख गरे ।
मन्त्री ठकुरीले आगामी वर्षको बजेटमा जलवायु परिवर्तनको मुद्दामा युवाको सहभागिता र सक्रियतालाई अझ बढी स्थान दिन प्रयास र पहल गर्ने दाबी गरे ।
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले जलवायु परिवर्तनको मुद्दा पर्यावरणको मुद्दा मात्र नभइ सशक्तिकरणको मुद्दा पनि भएको बताए ।
उनले जलवायु परिवर्तनले राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक लगायतका बहुविषयहरुमा सरोकार बताए ।
भविष्यको पुस्तालाई जलवायु परिवर्तनका मुद्दाकाबारेमा जानकारी दिने उद्देश्यले मुद्दाबारे बहस र छलफल जरुरी रहेको उनको भनाइ छ ।
जलवायु परिवर्तनको मुद्दा जलवायु सम्मेलन (कोप) का लागि नभइ आफ्नो जीवनसँग जोडेर हेर्न जरुरुी रहेको उनले बताए ।
महाप्रवन्धक ऐरीले जलवायु शिक्षाको बारेमा आम नागरिकलाई बुझाउन जरुरी रहेको उल्लेख गरे ।
जलवायु परिवर्तनमा नेपालको सरोकार, समाज र व्यक्तिले गर्ने योगदानका बारेमा बुझाउनुपर्ने आवश्यकता रहेकोमा उनको जोड थियो ।
जलवायु परिवर्तनको मुद्दा माग्ने, दिने र प्राप्त गर्ने भन्दा नेपालले किन जलवायु परिवर्तनको मुद्दा उठाइरहेको छ ? भन्नेकुरा आम नागरिकलाई बुझाउन जरुरी रहेको उनले बताए ।
प्रकाशित मिति २०८१ माघ २० गते आइतबार १०:३८




