२०८३ साउन २१ गते बिहीबार

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान आजदेखि

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार ०९:४३

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ ।

देशभरका १० देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क एचपीभी खोप दिईँदै

पोखरा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ ।

विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ । सरकारले यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य राखेको छ ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको बताए ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

त्यसैगरी ५४ हजार १६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार ६७४ सुपरीवेक्षक संलग्न हुनेछन् ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको छ । एपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ ।

विश्वमा यसको सफल परीक्षण भइसकेकाले यो खोप सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन ।

बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत गलत बुझाइ भएकाले ढुक्क भएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ ।

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना र औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा.बुढाथोकीले एचपीभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार ०९:४३
हजुरको प्रतिक्रिया