पाेखरा ।
पोखरा वडा नं. ६ स्थित लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनामा परी पोखराका दुई युवकको मृत्यु भएको छ ।
शनिबार राती १२ः५८ बजे भएको दुर्घटनामा परी गम्भिर घाइते भएका पोखरा २४ कास्कीकोटका २१ वर्षका सफल रानाभाट र पोखरा ८ सिमलचौरका सुजल अधिकारीको उपचारका क्रममा ज्यान गएको कास्की प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीका अनुसार लेकसाइडकाे स्ट्रीट नं. ३ बाट शहीदचोकतर्फ जाने क्रममा उनीहरु सवार ग १३ प ६७१९ नम्बरको मोटरसाइकलले नियन्त्रण गुमाएर सोलार पोलमा ठोक्किन पुगेकाे थियाे ।
गम्भिर घाइते दुवै जनालाई उपचारार्थ तत्काल गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा सुजलको २ः१४ बजे र सफलको २ः१८ बजे ज्यान गएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । दुवै जनाको टाउकोमा गम्भिर चोट लागेको थियो ।
सम्पर्कमा आएका एक साथी (सुजल र सफलका) का अनुसार उनीहरु पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा भएको ‘ब्याक टु नाइन्टिज् कन्सर्ट’मा सहभागी भएर लेकसाइड पुगेका थिए ।
तीव्र गतिमा मोटरसाइकल गुडाउँदा अनियन्त्रित भएर सोलार पोलमा ठोक्किएको बुझिएको छ ।
प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०७:०३




