२०८३ साउन २१ गते बिहीबार

पाेखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति

पाेखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०७:११

पाेखरा । बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज भनी चिनिने विजय भण्डारीले पोखरामा कोटीहोम नगरी नफर्किने बताएका छन् । आइतबार बिहान पोखरामा मानव सेवा फाउण्डेसनद्वारा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख १७ गतेदेखि लेक...

नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्छाै- महानगर

पाेखरा ।
बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज भनी चिनिने विजय भण्डारीले पोखरामा कोटीहोम नगरी नफर्किने बताएका छन् ।

आइतबार बिहान पोखरामा मानव सेवा फाउण्डेसनद्वारा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख १७ गतेदेखि लेक साइडस्थित बाराहीघाटमा कोटीहोम गरिछाड्ने बताएका हुन् ।

धर्मको लागि लड्न तयार रहेको भन्दै उनले भने, “ २५ हजार नरिवलकाे भाेग दिने गरि तालबाराही माताकाे संकल्प गरेकाे छु, अब कोटीहोम नगरी यहाँबाट कुनै पनि हालतमा फर्किन्न।” साथै उनले महायज्ञका नाममा चौताराका बरपिपल काटिनुलाई केही कमजोरी भएको स्वीकार गर्दै रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने योजना रहेको पनि सुनाए ।

कोटिहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, चर्चित श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सरवी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता श्री देवी प्रतिभा, वाचन प्रवीण श्री दीनवन्धु पोखरेल, भागवत मञ्जरी राधिका दासी माता, प्रवक्तादेवी सुप्रिया, शंकराचार्य, जगत् गुरु, साधु, सन्त, महन्तलगायत विश्व प्रसिद्ध कथा वाचक/ वाचिकाहरुबाट आशिर्वचन हुने जानकारी दिए ।

उनले पोखरामा हुने महायज्ञमा वातावरण प्रदूषण नहुने दाबीसमेत गरे । उनले भने, “महायज्ञस्थलको हल भित्रबाट बाहिर आवाज निस्किने छैन ।”

कोटीहोम आयोजना गर्नका लागि नेपाल ट्रष्टले आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि जग्गा उपलब्ध गराएको छ।

महानगरपालिका कार्यालयले भने महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको आइतबार जनाएको छ ।

महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ ।

महायज्ञको नाममा भन्दै बरपिपलका रुख नपलाउने गरी ठुटै बनाएर मानव सेवा फाउन्डेसनले काटेको थियो । त्यसयता स्थानीय बासिन्दाले वरोध जनाइरहेका छन् भने पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले समेत यसको विरोध गरिरहेको छ ।

पोखरा महानगरका अनुसार सहरका विभिन्न वडाका ३३ वटा सय वर्षभन्दा पुराना रुख ठुटै बनाएर काटिएका छन्।

चौतारा काटेर बनाइएको दाउरा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिइसकेको छ। ती दाउरा आयोजकले लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेर राखेको अवस्थामा महानगरले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०७:११
हजुरको प्रतिक्रिया