बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ :४५ मा उनको अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।
‘सास फेर्न गाहे भएपछिउनलाई बिहान अस्पताल लगेका र कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए । विसं। १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।
उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’, ‘नमान लाज यस्तरी’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।
प्रकाशित मिति २०७८ वैशाख २३ गते बिहीबार ०७:०८




