२०८३ साउन २१ गते बिहीबार

अमेरिकामा ’डीभी’ कार्यक्रम अन्त्य गर्ने तयारी शुरू

अमेरिकामा ’डीभी’ कार्यक्रम अन्त्य गर्ने तयारी शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०४:०५

अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डीभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ’ग्रीन कार्ड’ दिन्छ ।

काठमाडौं ।

अमेरिकाको संसद्मा ’डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डीभी) अन्त्य गर्नेसम्बन्धी ऐन प्रस्तुत भएको छ ।

रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने ऐन २०२५ संसद्मा प्रस्तुत गर्नुभएको र यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ ।

रिपब्लिकन सांसदहरूले डीभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित ऐन प्रस्तुत गरेका हुन् । सांसदहरूले कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिररहेको तर्क गरेका छन् ।

अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डीभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ’ग्रीन कार्ड’ दिन्छ । आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडमा आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ ।

भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसद्मा पेश भएको ऐनमा उल्लेख छ ।

अमेरिकामा यसअघि पनि डीभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको छ ।

संसद्मा रिपब्लिकनको बहुमत रहेको र पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आप्रवासी नीतिमा कडाइ गरेकाले ऐन पारित भएर डीभी कार्यक्रम रोकिने सम्भावना रहेको फक्स न्यूजले उल्लेख गरेको छ ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०४:०५
हजुरको प्रतिक्रिया