पाेखरा ।
पोखरा ८ सृजनाचोकमा अवस्थित सिर्जना सेकेन्डरी स्कुलमा यही शनिबार बृहत शैक्षिक प्रदर्शनी सम्पन्न गरेकाे छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सृजनशील क्रियाशील एवं व्यावहारिक बनाउँदै विद्यार्थीभित्रको अन्तर्निहित प्रतिभा उजागर गरी रचनात्मक तथा प्रयोगमुखी सिकाई गराउँदै लैजाने उद्देश्यका साथ उक्त वृहत शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएकोविद्यालयले जनाएकाे छ ।
विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले विषयगत रुपमा तयार पारेका परियोजना कार्यका मोडल तथा विविध शैक्षिक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । विद्यालय प्राड्डणका करिब ६० वटा स्टलहरूमा विज्ञान गणित कम्प्युटर सामाजिक नेपाली अंग्रेजी स्वास्थ्य तथा शारीरिक शिक्षा लेखा बिजनेस स्टडी टुरिजम होटल म्यानेजमेन्ट आदि विषयमा विद्यार्थीहरूले झन्डै ९०० परियोजनाका मोडलहरू प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूको सृजनशील एवं रचनात्मक कार्यलाई प्रोत्साहन गरी हौसला प्रदान गर्नका लागि तहगत एवं कक्षागत रुपमा बाह्य विषय विज्ञद्वारा मूल्याकंन गरी प्रथम द्वितीय तृतीय स्थान छुट्याइएको थियो । विजेता विद्यार्थीहरुलाई कुनै कार्यक्रमका बीच पुरस्कृत गरिने कुरा कार्यक्रमका संयोजक कृष्ण घिमिरेले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले रिबन काटेर उद्घाटन कार्यक्रमको समुद्घाटन गरेका थिए ।
विशिष्ट अतिथिका रुपमा गण्डकी प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख गोविन्द पोखरेल र पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य रहेका थिए । यसैगरी अतिथिहरूमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, सिर्जना सेकेन्डरी स्कुल, विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद बराल र गिर्दारी सुवेदी रहेका थिए ।
कार्यक्रममा नेपाली तथा चिनियाँ भाषाका विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति २०८१ फागुन ३ गते शनिबार ०९:३२




